समाचारआइतबार, मंसिर २४, २०६९

सशस्त्र युद्धमा लगेका बालबालिका पुनःस्थापित हुन समस्या

हिमालखबर

क्रियाशील पत्रकार महिला समूह (डब्लुडब्लुजे) ले २४ मंसीरमा आयोजना गरेको ‘द्वन्द्वको समयमा बालबालिका’ विषयक छलफल कार्यक्रममा सिविनका तारक धितालले द्वन्द्वमा संलग्न बालबालिकालाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले पनि उनीहरु पुनः स्थापित हुन समस्या परिरहेको बताए । अध्ययनअनुसार बालकभन्दा पनि बालिका पुनः स्थापित हुन नसक्ने समस्या डरलाग्दो रुपमा छ ।

बालिकालाई भान्छाका काम र नाचगानमा लगाउन तत्कालीन विद्रोही माओवादीले विभिन्न स्थानबाट विद्यालयको पहिरनमै लैजाने गरेका थिए । धिताल भन्छन्, “नाचगान सकिएपछि बालबालिकाले घर फर्कने मनसाय देखाएमा अब तँ हाम्रो पार्टीमा लागिसकिस् घर फर्किएमा राज्य पक्षले मार्छ भन्नेजस्ता धम्की समेत दिएको पाइयो ।”

यसैगरी द्वन्द्वका बेला पार्टीभित्रै विवाह गर्ने प्रचलन पनि बढेको थियो । जनवादी नाम दिएर गरिने त्यस्ता विवाह शान्ति सम्झौतापछि टुट्ने क्रम पनि निकै बढ्यो । त्यसबाट पनि विशेषगरी महिला नै पीडित भएका छन् । त्यतिबेला जातजाति, धर्म, संस्कृतिलगायतका विषयलाई बेवास्ता गर्दै गरिएका विवाह पछि तिनै कारणलाई मुख्य बनाएर तोडिएका छन् । शान्ति सम्झौतापछिको समयमा द्वन्द्वमासँगै संलग्न भएका पुरुषले आफ्नै महिला सहकर्मीलाई विवाह गर्ने चाहना देखाएनन् । धितालका अनुसार द्वन्द्वमा संलग्न महिलाहरु सशक्त हुने भएकाले पितृसत्तात्मक सोचबाट माथि उठ्न नसकेका पुरुषले आफूभन्दा सशक्त महिलालाई स्वीकार्न मान्दैनन् । त्यसैले पनि उनीहरुले आफ्नै सहकर्मी महिलासँग विवाह नगर्ने बताएका थिए ।

द्वन्द्वमा संलग्न बालबालिका हाल युवा अवस्थामा पुगिसकेका भए पनि उनीहरु आफ्नो वास्तविकता भने कसैसामु खुलाउन नचाहेको अध्ययनले देखाएको छ । वास्तविकता थाहा भएमा जागिर नपाइने र पाइएको जागिर पनि जाने डरले आफ्नो वास्तविकतालाई लुकाउने गरेका छन् ।

अनमिनले दुई हजार ९७२ बालबालिकालाई उमेरका कारण अयोग्य ठहर्‍याएको थियो । सिविनको तथ्याङ्कअनुसार भने करिब दश हजार बालबालिका प्रत्यक्षरुपमा द्वन्द्वमा संलग्न थिए । तीमध्ये करिब ५०० को द्वन्द्वका क्रममा मृत्यु भएको थियो । बीस लाख बालबालिका घरबारविहीन बन्न पुगेका थिए । अयोग्य ठहर्‍याइएका कूल बालबालिकामध्ये करिब ४०० ले मात्र आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>