मेडिकल शिक्षामा अख्तियार: स्वार्थको हस्तक्षेप

मेडिकल शिक्षामा अख्तियारको अनुचित हस्तक्षेप शृंखला प्रमुख आयुक्त लोकमानसिंह कार्कीका नातेदार ज्ञानेन्द्रमान सिंह कार्कीले सञ्चालन गरेको विराट मेडिकल कलेजलाई अनुचित तरीकाले काठमाडौं विश्वविद्यालयबाट विस्तारित कार्यक्रमको रूपमा सम्बन्धन दिन लगाएदेखि शुरू भयो।

काठमाडौं विश्वविद्यालय (केयू) ले १५ जेठमा मेडिकल साइन्सेजतर्फको विशेषज्ञ तहको प्रवेश परीक्षा लिने तयार गरिरहेकोमा अख्तियारले १३ जेठमै ‘प्रश्नपत्र बिक्री भएको आशंका’ गर्‍यो र केयूमा टोली पठाएर एमडी, एमएस र एमडीएसको जाँच लियो। “हामीले प्रश्न बनाएकै थिएनौं”, केयूका एक पदाधिकारी भन्छन्, “अख्तियारको टोली आएर यहींको ‘क्वेश्चन ब्यांक’ बाट प्रश्नपत्र निकालेर जाँच लियो।”

अख्तियारले काउन्सिललाई ‘कलेज निरीक्षण र सीट निर्धारणको लागि आफू सहमत’ भएको पत्र २०७० सालदेखि पठाउन थालेको थियो, जसलाई काउन्सिलले निर्देशनको रूपमा कार्यान्वयन गर्दै आएको देखिन्छ।

अख्तियारले लिएको विशेषज्ञ तहको प्रवेश परीक्षाको नतीजा १५ असारमा सार्वजनिक भएपछि झन् विवादित बनेको छ, जसमा केयूका एसोसियट डीन डा. भागवत नेपालका छोरासहितको नाम ‘एक नम्बर’ मा निस्किएको छ। एमबीबीएसमा मुश्किलले उत्तीर्ण सहित नेपाल अख्तियारको जाँचमा उत्कृष्ट ठहरिएपछि त्यसमाथि छानबीन गर्न अख्तियारमै उजुरी परेर केयूको भर्ना प्रक्रिया रोकिएको छ।