समाचारसोमबार, मंसिर २५, २०६९
आन्दोलनले १२ हजार विद्यार्थीको परीक्षामा बाधा
विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमध्येबाट रिक्त रजिस्ट्रार पद नियुक्ति गरिनुपर्ने माग गर्दै विगत एक हप्तादेखि कर्मचारी र प्राध्यापकहरूले केन्द्रीय कार्यालयको कामकाज नै ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।
४८ जना प्राध्यापक र ३५० कर्मचारी आन्दोलनमा उत्रिएपछि २४ मंसीरदेखि तय भएको व्यवस्थापन र इन्जिनियरिङ सङ्कायको परीक्षा प्रभावित भएको हो । परीक्षा स्थगित हुँदा विश्वविद्यालय अन्तर्गतका स्नातक र स्नातकोत्तर तहका १२ हजार विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरू पनि सबै काम बन्द गरेर आन्दोलनमा सहभागी भएका छन् । जसले गर्दा परीक्षा कार्यालय बन्द भएको छ । केन्द्रीय कार्यालयमा पनि कर्मचारी र प्राध्यापकहरूले तालाबन्दी गरेर धर्ना जारी राखेका छन् ।
परीक्षा सञ्चालन गराउन कर्मचारी र प्राध्यापकहरूसँग वार्ता गरे पनि सफल नभएकाले प्रतिकूल अवस्थामा परीक्षा सञ्चालन गराउन सम्भव नभएकाले परीक्षा तत्काललाई स्थगित गर्नुपरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यता परीक्षा दिनबाट आफूहरू वञ्चित भएको भन्दै विद्यार्थीले ४८ घन्टाभित्र परीक्षा दिने वातावरण तयार गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतममार्फत ज्ञापनपत्र बुझाएका हुन् ।
परीक्षा दिन नपाए आफूहरू आन्दोलनमा उत्रिने परीक्षा दिनबाट वञ्चित विद्यार्थी गोपाल न्यौपानेले बताए । रासस
