समाचारमंगलबार, मंसिर २६, २०६९
‘हदैसम्म लचक हुने’– एमाओवादी निर्णय
२६ मंसीर साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको विघटित स्थायी समितिको बैठकले आगामी बैशाखसम्ममा निर्वाचन गर्नुपर्ने समेत निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विगतदेखि नै राजनीतिक सहमतिका लागि पार्टी सक्रिय रहेको भन्दै थपे, ‘‘राजनीतिक निकासका लागि हामी एकदमै संवेदनशील छौं, हाम्रो पार्टीजस्तै विपक्षी दल पनि संवेदनशील हुनु आवश्यक छ ।’’
यसैगरी सहमति खोज्न दलहरूबीच छलफललाई अगाडि बढाउने निर्णयसमेत एमाओवादीले गरेको छ । ‘‘वैशाखमा नै संविधानसभाको निर्वाचन गर्ने गरी सहमति जुटाउन पार्टीका तर्फबाट विशेष पहल गर्ने निर्णय गरिएको छ,’’ उपाध्यक्ष श्रेष्ठले भने ।
सहमतिको सरकारका लागि कांग्रेस सभापति सुशील कोइरालालाई सत्ता गठबन्धनले अस्वीकार गरेपछि विपक्षी दलहरु आक्रोशित भएका बेला बसेको बैठकले दलहरुसँगको आगामी वार्तामा प्रस्तुत गर्ने आफ्नो धारणा बनाएको र आफ्ना अडानहरुमा समेत परिवर्तन गर्ने बारे छलफल भएको बुझिएको छ ।

