समाचारबुधबार, मंसिर २७, २०६९

डेकेन्द्रका हत्यारामाथि कारबाही गर्न रिट दायर

हिमालखबर

स्व. थापाकी श्रीमति लक्ष्मी छोराका साथमा

नेपाल पत्रकार महासंघको सक्रियता तथा एड्भोकेसी फोरमको कानूनी सहयोगमा पत्रकार थापाकी श्रीमती लक्ष्मीले २७ मंसीरमा  रिट दायर गरेकी हुन् । रिटमा जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला सरकारी वकिलको कार्यालय दैलेखलाई विपक्षी बनाइएको छ ।

थापा परिवारले हत्याराहरुमाथि कार्वाहीको माग गर्दै ५ भदौ २०६५ मा प्रहरी कार्यालय दैलेखमा जाहेरी दर्ता गराएका थिए । तर, ४ बर्षसम्म प्रहरीले अनुसन्धान अगाडि नबढाएपछि अदालतको ढोका ढक्ढकाउन बाध्य भएको स्व. थापाकी श्रीमती लक्ष्मीले बताइन् ।

रिटमा तत्काल प्रभावकारी अनुसन्धान गरी दोषी देखिएका व्यक्तिहरुमाथि मुद्दा चलाउन तथा पीडित परिवारलाई परिपूरण र प्रभावकारी उपचारअन्र्तगत प्राप्त गर्ने हक प्रदान गर्न परमादेशको आदेश जारी गर्न माग गरिएको छ ।

किटानी जाहेरी दर्ता गरेपनि प्रहरीले मुद्दाको अनुसन्धान अधिकृत नतोक्नुका साथै विपक्षी सरकारी वकिल कार्यालयलाई जानकारी नदिएको, सरकारी वकिल कार्यालयले पनि यस सम्बन्धमा कुनै चासो नलिएको र अहिलेपनि अभियुक्तहरु प्रहरी कार्यालयको वरिपरी खुल्लेआम घुमफिर गरिरहेको अधिवक्ता एवं एड्भोकेसी फोरमका मध्यपश्चिम संयोजक बसन्त गौतमले बताए ।

१२ असार २०६१ मा माओवादी कार्यकर्ताको अपहरणमा परेका पत्रकार थापाको चरम यातनापछि २७ साउन २०६१ मा हत्या भएको थियो । डेकेन्द्रको हत्यामा संलग्न भन्दै दैलेख कट्टि–१ का बमबहादुर खड्का, लछिराम घर्ति, छिउडी पुसाकोटका केशव खड्का लगायतविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>