समाचारआइतबार, पौष १, २०६९
धोका नहुने भए एमाओवादीको शर्त मान्य: देउवा
वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गर्ने र संविधानका बाधा अडकाउ फुकाएर कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्ने माओवादीको प्रस्ताव मान्न सकिने देउवाको भनाई छ ।
“कांग्रेसलाई धोका हुँदैन भने, एमाओवादीको शर्त मान्दा पनि हुन्छ । केही फरक पर्दैन”, रिपोर्टर्स क्लबले १ पुसमा काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, “सधैं अविश्वास गरेर मात्रै पनि हुँदैन ।”
संविधानका अन्तर्वस्तुमा सहमति हुने भन्ने कुरा भने असम्भव रहेको उनले बताए ।
“संविधानको आधारभूत सिद्धान्त, संघीयता र गणतन्त्रलाई स्वीकारेर निर्वाचनमा जानु पर्छ,” देउवाले अगाडि भने, “अहिले नै सबै कुरा मिलाएर निर्वाचनमा जाने कुरा हुन सक्दैन ।” नमिलेका कुरा त चुनावी घोषणा पत्रमा लिएर जनतामा जानु पर्नेमा देउवाले जोडदिए ।
उनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले दिएको समयभित्रै सहमति बन्छ भनेको कुरामा आशंका र अविश्वास नगर्न पनि आग्रह गरे । “सहमति गर्ने हो भने शंका मात्रै गरेर हुँदैन”, देउवाले थपेका थिए ।
