समाचारमंगलबार, पौष ३, २०६९
नेपाल भन्छन्, ‘प्रधानमन्त्रीको जिद्दी असम्भव’
“केयर टेकर (काम चलाउ) सरकारले नयाँ मन्त्रीहरुलाई सपथ ख्वाउनै मिल्दैन, यस्तो नहुने कुरा पनि गर्ने हो,” नेता नेपालले भने, “सहमतिको सरकार बनाउने वर्तमान मन्त्रीको ‘पोर्टफोलियो’ परिवर्तन गरेजस्तो हो र ?”
३ पुस साँझ हिमालखबरसँग कुरा गर्दै नेता नेपालले एमाओवादीले निर्वाचन नै नचाहेको कि भन्ने आशंका व्यक्त गरे । २ पुस बिहानको छलफलमा सहमतिको नजिक पुगिएकोमा पछि एमाओवादीले आफ्नो अडान फेर्दा आफूलाई आश्चर्य लागेको उनले बताए ।
नेता नेपालले एमाओवादीले माघमा गर्ने पार्टी अधिवेशनसम्म जसरी पनि सरकारको आयु लम्बाउन खोजेको भन्दै अझै पनि सहमतिका लागि वार्ता भने जारी रहने बताए । उनले थपे,“ भट्टराईजीको अडानले मुलुकलाई थप जटिलतामा लगेको छ ।”
प्रधानमन्त्री भट्टराईलाई सरकार छोड्नका लागि मनाउन उनलाई जिम्मा लगाएको भन्ने सन्दर्भमा नेता नेपालले प्रतिक्रिया दिए, “मैले भनेको मान्नु प¥यो नी, मैले उहाँलाई हरतरहले संझाए तर, उहाँ आफ्नै जिद्दीमा हुनुहुन्छ ।” अँझै पनि प्रधानमन्त्री भट्टराईलाई सहमतिका लागि बाधक नबन्न आग्रंह गर्ने उनको भनाई थियो ।
बाहिरबाट अध्यक्ष पुष्पकमल दाहालले लचकता प्रदर्शन गरेको तर उपाध्यक्ष एवम् उपप्रधानमन्त्री बाबुराम भट्टराईको अडानले सहमति नबनेको देखिए पनि वास्तविकता भने ठम्याउन गाह्रो भएको नेपालको भनाई छ । “अध्यक्ष र उपाध्यक्षको कुरा नमिलेको हो कि, चुनावै नचाहेको कि, उहाँहरुको पार्टीको नीति नै यस्तै हो कि,” नेता नेपालले भने । उनले थपे, “अहिलेको सहमतिको बाधक एमाओवादी नै हो, उहाँहरुले मुलकको दिर्घकालिन हितका लागि लचकता देखाउनै पर्छ ।”

