समाचारबुधबार, पौष ४, २०६९
एमाओवादी बैठक हुँदै
अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईबीच पछिल्लो समय देखिएको बिबाद साम्य पार्न आज एमाओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठक बस्दैछ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पूर्व पदाधिकारी, पोलिटब्यूरो र राजधानीमा उपलब्ध केन्द्रीय समिति सदस्यहरु सहभागि हुनेछन् । बैठकले मुलुकमा देखिएको राजनीतिक समस्या समाधानका लागि छलफल गर्ने दाहाल निकट एक पूर्व पोलिटब्यूरो सदस्यले बताए ।
राष्ट्रिय सहमतिको सरकार निर्माणका निम्ति वर्तमान कामचलाउ सरकारले तत्काल मार्ग प्रसस्त गर्नुपर्ने एमाओवादी अध्यक्ष दाहाल, नेपाली कांग्रेस सभापति सुशिल कोइराला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति प्रधानमन्त्री भट्टराईले अस्विकार गरेपछि एमाओवादीमा बिबाद चुलिएको थियो । दाहाल निर्वाचनका लागि आवश्यक संविधान संशोधनको प्रक्रिया अघि बढाएपछि तथा संवैधानिक अंगका रिक्त पदहरुमा नियुक्ति गरेपछि वर्तमान सरकारले मार्ग प्रसस्त गर्ने र नेपाली कांग्रेसका सभापति कोइरालाको नेतृत्वमा सरकार निर्माण गर्ने पक्षमा छन् भने भट्टराई नेपाली कांग्रेस र एमाले वर्तमान सरकारमै सामेल हुनुपर्ने अड्डी लिइरहेका छन् ।
