समाचारबिहीबार, पौष ५, २०६९
ज्वालामुखी होइन, डढेलो
जनमानसमा कौतुहलता र केही सञ्चारमाध्यमले ज्वालामुखी विष्फोट भएको खबर सम्प्रेषण गरेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरमार्फत निरीक्षण गराउँदा जङ्गलमा डढेलो लागेको देखिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिएका छन् ।
ज्वालामुखी विष्फोट हुने आशङ्काले यस क्षेत्रका बासिन्दाका साथै कर्मचारीमासमेत त्रास फैलिएको देखिन्थ्यो । उनीहरू दिनभर लाङ्टाङ हिमालतर्फ नै आफ्नो ध्यान केन्द्रित गरेका थिए । वर्षांैपछि घना जङ्गलबाट निस्केको धुवाँको मुस्लो ठूलो देखिन गएको स्थानीयवासीको भनाइ छ ।
जिल्लाका प्रहरी प्रमुख सुदीप गिरीले डढेलोको कारण पत्ता लगाउन प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार उक्त ठाउँ ब्रिदीम गाविसको विकट क्षेत्र रहेकाले परिचालित प्रहरी भोलि बिहानसम्म त्यहाँ पुग्नेछ । सो स्थान सदरमुकाम धुन्चेबाट तीन दिनको पैदल दुरीमा छ ।
ज्वालामुखी विष्फोटनको हल्ला निराधार भएकाले यस्ता हल्लाका पछाडि नलाग्न सहायक प्रजिअ रिमालले सबैमा आग्रह गरेका छन् । रासस
