समाचारशुक्रबार, पौष ६, २०६९
२१ डिसेम्बरः कतै मनाईंदैछ प्रलयोत्सव !
२१ डिसेम्बर २०१२ लाई लिएर भलै संसारमा कतिले प्रलयको आशंका गरेका होउन्, तर माया सभ्यताको जुन क्यालेण्डरले यो शंकाको जन्म गरायो त्यसको गढ मेक्सिको र मध्य अमेरिकामा भने अहिले जीवन असाध्यै रंगीन छ ।
‘प्रलयको दिन’ का खबरहरूले मेक्सिको र मध्य अमेरिकाको त्यो इलाकालाई पर्यटनको गढ बनाइदियो जहाँ माया सभ्यताका केही स्मारक र अवशेष अझै छन् । फिल्मी शो, अनेकौं खेला, भूमिगत नदीमा सयरका तमाम सुविधा भएका यी स्थान अब पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् । यहाँ आउने हरेक व्यक्ति जिन्दगीको भरपूर मजा लिन चाहन्छन् र यस क्षेत्रका पर्यटन व्यवसायीहरूले ती सपना पूरा गरिदिन मोर्चा कसेका छन् ।
पुरातत्वविद्हरूका अनुसार माया सभ्यतामा कहिले पनि प्रलयको प्रसंग उठाइएको छैन र त्यसकोे क्यालेण्डरमा नयाँ शताब्दीको शुरुवात हुने कुरा मात्रै उल्लेख गरिएको छ । तर यी तर्कहरूबाट बेखबर पर्यटकहरू जिन्दगीको मजा लिंदैछन् । अचानकै संसरभरमा माया सभ्यताको क्यालेण्डरबारे रुचि जागेको छ र मेक्सिकोे सरकार यो मौका गुमाउन चाहँदैन ।
केही महिनादेखि नै मेक्सिको सरकारले अमेरिका र युरोपका देशहरूमा यो क्यालेण्डरलाई प्रचारको विषय बनाएको थियो । मेक्सिकोको पर्यटन विभागले आफ्नो रणनीतिले अपेक्षित सफलता हासिल गरेको स्वीकारेको पनि छ । यद्यपि केही अधिकारीहरू यो ‘प्रलय आशंका’ को प्रचार अझै राम्रो तरिकाले गरिएको भए पर्यटकहरू झन् बढ्ने थिए भन्ने तर्क गर्छन् ।
पर्यटन परिषदका सदस्य सीजो एडुआडी भन्छन्, “हामीले जनवरी २०१२ मै सरकारसँग प्रचारको काम शुरु गर्न आग्रह गरेका थियौं । वास्तवमा यो काम त्यो भन्दा पनि चाँडै गरिनुपथ्र्यो ।ं”
थरीथरीका उत्सव
मेक्सिकोको दक्षिणी इलाका युकतानमा ‘२१ डिसेम्बरमा दुनियाँ साँच्चिकै नष्ट हुँदैछ भने अन्तिम अवस्थासम्म उत्सवमा डुब्नुपर्छ’ भनेजस्तो वातावरण छ । विश्वकै उत्कृष्ट कुकहरूले यो दिनका लागि विशेष तयारी गरेका छन् । ‘एण्ड अफ द वल्र्ड’ नामको एउट ब्यांक्वेटमा यो दिनको अंकका आधारमा विशेष पकवानको सेट बनेका छन्, जसको मूल्य ३९० डलर सम्म छ । यस्तै एउटा पसलमा ‘प्रलयको दिन’ को सम्झना बेचिंदैछ । माया सभ्यताको कथनलाई उद्धृत गरिएको पसलमा राखेको विज्ञापन भन्छ, “ममाथि विश्वास गर्नुस्, मलाई सबै थाहा छ ।”
पसल र ‘शो’ बाहेक कैयौं अन्य आकर्षणहरू पनि राखिएका छन् । ग्वाटेमाला शहर नजिकैको तापाचुला इलाकामा गरिएको एउटा कार्यक्रममा क्याथोलिक बाइबल र माया सभ्यताको सम्बन्धबारे चर्चा गरिंदैछ । यसबाहेक मेक्सिकोका कतिपय क्षेत्रमा माया सभ्यतामाथि फिल्म, वृत्तचित्र र कला प्रदर्शनी आयोजना गरिएको छ ।
मेक्सिको सरकारले यो वर्ष ५२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा अगस्तभित्रै ६२ लाख नाघिसकेका छन् । लक्षित समयसम्म ८० लाख पर्यटक मेक्सिको भित्रिने अनुमान गरिएको छ । ‘प्रलय दिन’ को यो व्यापारका बारेमा विरोधका स्वरहरू पनि नसुनिएका होइनन्, तर मेक्सिको सरकारसहित धेरै मान्छे यसलाई एउटा विन्दास अवसर बताउँछन् ।
बीबीसीबाट साभार


