समाचारशनिबार, पौष ७, २०६९
पाँचौपटकको समयसीमा आज सकिंदै
सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न राष्ट्रपति रामवरण यादवले ३ पुसमा चौथोपटक दिएको समयसीमाभित्र सहमति जुटाउन दलहरू असफल भएपछि पाँच दिनको समय थपेका थिए ।
पछिल्लो समयसीमा पनि दलहरूबीच सहमति जुट्ने सम्भावना देखिएको छैन । पछिल्लोपटक पनि दलहरूको संयुक्त बैठक बस्न सकेको छैन । यसैबीच राष्ट्रपतिले भने अब राजनीतिक निकासका लागि विघटित संविधानसभामा रहेका सबै दलहरूसँग सामुहिक छलफल गर्ने तयारी गरेका छन् । मुख्य दलहरूलाई पटक पटक दिइएको समयसीमाभित्र उनीहरू सहमति जुटाउन असफल भएपछि राष्ट्रपतिले नयाँ ढङ्गले निकासको खोजी गर्ने मानसिकता बनाएको उनका कानूनी सल्लाहकार सूर्य ढुङ्गेलले जानकारी दिएका छन् ।
सम्भवतः राष्ट्रपतिले छलफलका लागि ८ पुसमा दलका प्रतिनिधिहरूलाई बोलाउने ढुङ्गेलले बताए । तर दलहरूले भने आज दुई पक्षीय र बहुपक्षीय छलफललाई जारी राख्ने बताएका छन् । राष्ट्रपतिले गत ८ मंसीरमा पहिलो पटक नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ (१) अनुसार सहमतीय सरकारका लागि दलहरूलाई आह्वान गरेका हुन् ।
