समाचारशनिबार, पौष ७, २०६९
एमाओवादी बैठकः सहमतिको गाँठो फुकेन
६ पुसमा बसेको एमाओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सहमतिको सरकार गठनको जिम्मा चारजना नेताहरु अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा पूर्व सचिव पोष्टबहादुर बोगटीलाई दिएको प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने र नदिने भन्ने विषयको विवादमा बैठकमा सहभागी नेताहरुबीच मतान्तर भएपछि यो विषय चार नेताले टुंग्याउने भन्दै बैठक सकिएको हो ।
यसअघि ५ पुसमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सहमतिको सरकार गठनका लागि सत्तामा टाँसिइरहन नहुने धारणा राखेको र, उपाध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि सत्ता नछोड्ने अडान राखेपछि उक्त बैठक विषय प्रबेश नै नगरी स्थगित भएको थियो । आज भएको बैठकमा पार्टीको आन्तरिक मतभेदका बारेमा बाहिर नबोल्न पनि नेताहरुलाई निर्देशन पनि दिएको बुझिएको छ ।
बैठकले आगामी बैशख महिनाभित्रै संविधान सभाको निर्वाचन गर्न दलहरुबीच सहमति गर्नेमा भने जोड दिएको नेता लोकेन्द्र विष्टले बताए । बैठकले सकेसम्म वर्तमान सरकारलाई नै सहमतिको स्वरुप दिनका लागि पहल गर्ने निर्णय गरेको छ ।
विपक्षी नेताहरुले सहमतिको सरकार गठनका लागि एमाओवादी उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई मुख्य बाधक भएको ठहर गरेका छन् । आजको एमाओवादीको बैठकमा सहमतिको सरकार गठनका लागि ठोस निर्णयको अपेक्षा गरेका विपक्षी दलहरु निराश बनेका छन् ।
