समाचारआइतबार, पौष ८, २०६९
सत्तागठबन्धन दलहरुबीच विवाद
वर्तमान सरकारलाई नै निरन्तरता दिने यसअघिको अडानमा कायम रहने वा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्नेमा सत्तारुढ दलहरुबीच फरक फरक धारणा आएका छन् ।
संघीय गणतान्त्रिक लोकतान्त्रिक गठबन्धनका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको निर्वाचन वैशाखमा सुनिश्चित गरेर सरकार छोड्नुपर्ने बताएपनि प्रधानमन्त्री बाबुराम भट्टराई र मधेशी मोर्चामा रहेका केही दलहरुले प्याकेजमा सहमति हुनुपर्ने अडान राखेका छन् । बैठकमा सरकार गठन बारे फरक फरक धारणा आएपछि बेलुका फेरि बस्ने गरी स्थगित भएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एकीकृत नेकपा माओवादी र मधेशी मोर्चाले हिजो तय गरेका छुट्टा–छुट्टै प्रस्तावमाथि छलफल भएको थियो ।
मधेशी मोर्चामा पनि विवाद
सत्तारुढ मधेशी मोर्चाभित्र पनि सहमतिको सरकार गठनलाई लिएर विवाद देखिएको छ । मोर्चाको घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बैशाखमा निर्वाचन गर्ने सुनिश्चित्ता भएपछि नेपाली कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्न सकिने मनसायमा छन् भने अन्य दलहरु वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने अडानमा छन् ।
यसअघि मोर्चाले सहमतिका लागि आफूहरु बाधक नबन्ने समेत निर्णय गरेको थियो ।
