समाचारसोमबार, पौष ९, २०६९
राष्ट्रपति यादव भारत प्रस्थान

राष्ट्रपति रामवरण यादव भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बीरः रासस
राष्ट्रपति यादव १० पुसमा बनारस हिन्दु विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा भारतका राष्ट्रपति मुखर्जीका साथ सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बनारस हिन्दु विश्वविद्यालका संरक्षक एवम् शिक्षाविद् पण्डित मदनमोहन मालवियको १५० औं जन्मजयन्तीका अवसरमा आयोजित दीक्षान्त कार्यक्रममा राष्ट्रपति यादवलाई सो विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डि लिट) उपाधि प्रदान गर्नेछ ।
११ पुसमा राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री डा मनमोहन सिंहसँग नयाँ दिल्लीमा भेटवार्ता गर्नेछन् । त्यस्तै, प्रधानमन्त्री सिंहले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति डा यादवले भारतीय उपराष्ट्रपति, वरिष्ठ मन्त्रीहरू, युपिए अध्यक्ष सोनिया गान्धी, विपक्षी दलका नेता तथा पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने छन् ।
राष्ट्रपतिको भ्रमण टोलीमा उनकी छोरी अनिता यादव, मन्त्री महेन्द्र यादव, सल्लाहकारद्वय राजेन्द्र दाहाल र हरि शर्मा, निजी सचिव ललित बस्नेत, राष्ट्रपति कार्यालयका सचिव, शिष्टाचार महापाल र अन्य वरिष्ठ अधिकारी पनि सहभागी छन् ।
प्रस्थान गर्नुअघि राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सम्मान गारत अर्पण गर्नुकासाथै २१ तोपको सलामी दिइएको थियो । राष्ट्रपति यादव १४ पुसमा स्वदेश फर्कने छन् हुनेछ ।
यसैबीच राष्ट्रपतिको कार्यालयले ९ पुसमा विज्ञप्ति जारी गर्दै राष्ट्रपति यादव भारतको औपचारिक भ्रमणका लागि आज बनारसतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यहरू उपराष्ट्रपतिले गर्ने जनाएको छ ।
रासस
