समाचारमंगलबार, पौष १०, २०६९
राष्ट्रपति यादवलाई ‘डक्टर अफ ल’ उपाधि

राष्ट्रपति यादवलाई उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव (बायाँ) ले विमानस्थलमा स्वागत गरेका थिए । तस्बीर सौजन्यः दैनिक भाष्कर
१० पुसमा आयोजित विशेष दिक्षान्त समारोहमा राष्ट्रपति यादवलाई बनारसस्थित उक्त विश्वविद्यालयका कुलाधिपति करण सिंहले उपाधि प्रदान गरेका हुन् । उपाधि ग्रहणपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रपति यादवले आफूलाई दिइएको उपाधिबाट नेपाल र नेपालीको सम्मान एवम् गौरव बढेको बताए । उनले आफूलाई गरिएको सम्मानबाट शताब्दीऔंदेखिको नेपाल–भारतबीचको प्रगाढ सम्बन्धमा नयाँ आयाम थपिएको धारणा राखे ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले मुखर्जीले बनारस नेपाल र भारतका विद्वानको सङ्गमस्थल भएको उल्लेख गर्दै धेरै नेपालीले बनारसमा अध्ययन गरेको स्मरण गरे । उनले भने, “हामी विश्वविद्यालयको सर्वोच्च डिग्री नेपालका सम्मानित राष्ट्रपतिलाई प्रदान गरेर हामी यो कार्यक्रमलाई स्मरणीय बनाउँदै छौं ।”
राष्ट्रपति यादव १० पुसमै बनारसबाट नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् । दिल्ली जानुअघि उनले बनारसस्थित विभिन्न धार्मिकस्थलको भ्रमणका साथै काशी विश्वनाथ, पशुपतिनाथ र सङ्कटमोचन हनुमानमन्दिरमा पूजाअर्चना गरेका थिए ।
यसअघि राष्ट्रपतिलाई बिएचयुले डि लिट (डक्टर अफ लेटर्स) उपाधि प्रदान गर्ने राष्ट्रपतिको कार्यालय र परराष्ट्रमन्त्रालयले जारी गरेका विज्ञप्तिहरुमा उल्लेख थियो । यद्दपी केही भारतीय सञ्चारमाध्यमहरुले भने राष्ट्रपतिलाई एलएलडी उपाधि प्रदान गरिने तीन दिनअघि नै उल्लेख गरेका थिए ।
बिएचयुको विधान अनुसार डि लिट र ‘डक्टर अफ ल’ (एलएलडी) समान स्तरका उपाधि भए पनि डि लिट उपाधि साहित्य, दर्शन, कला र संगीतको उन्नती एवम् चित्रकला लगायतका विधाहरुमा महत्वपूर्ण योगदान दिने विशिष्ट व्यक्तिहरुलाई प्रदान गरिन्छ भने एलएलडी उपाधि प्रतिष्ठित वकिल, न्यायाधीश, कानूनविद्, राजनेता वा सार्वजनिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई प्रदान गरिन्छ ।
