समाचारबुधबार, पौष ११, २०६९
फेरि पुनःस्थापनाको कुरा !
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा १० पुसमा बसेको गठबन्धन सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि लचकता अपनाउने र त्यसो हुन नसके संविधानसभा पुनःस्थापना गरेर अगाडि जाने निष्कर्ष निकालेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
यसअघि संविधान सभाको पुनःस्थापना गर्न नहुने भन्दै ताजा निर्वाचनमा जानुपर्नेमा दलहरुबीच सैद्धान्तिक सहमति भइसकेको छ । विपक्षी दलहरुसँग संविधान सभा पुनःस्थापनाका लागि पटक पटक पहल गरेका एमाओवादी अध्यक्ष दाहाललगायत सबै पुनःस्थापना पक्षधरहरु निर्वाचनमा जानेमा सहमत भइसकेका बेला सत्ता गठबन्धनले फेरि पुनःस्थापनाको कुरा उठाएको हो । विघटित संविधानसभाले पारित गरेका विषयलाई लिपिबद्ध गर्न त्यसको पुनःस्थापना गर्नुपर्ने आवश्यकता झन् बढ्दै गएको गठबन्धनले ठहर गरेको प्रवक्ता सिंहले बताए ।
सचिवालय बैठकले पूर्ण बैठकका लागि कार्यसूची मात्रै तय गरेको बताइएको छ । ‘‘राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा गठबन्धन सचिवालय बैठकले एजेन्डा तय गरेको र आज तयार भएको एजेन्डा गठबन्धनको पूर्ण बैठकमा राखिन्छ र सोही बैठकबाट पारित गरिन्छ ,’’ प्रवक्ता सिंहले भने ।
सहमतीय सरकार गठनका सम्बन्धमा अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराईबीच कुरा नमिलेपछि पुनःस्थापनको मुद्दा उठाएर विपक्षी दलहरुलाई केही समय अलमलमा राख्ने नीति अन्तर्गत यो मुद्दा फेरि उठाएको बुझिएको छ ।
