समाचारबुधबार, पौष ११, २०६९
‘भारत नेपालमा सहमति गराउने प्रयासमा’
भारत भ्रमणमा रहेका राष्ट्रपति रामवरण यादवसँग नयाँदिल्लीमा भएको भेटपछि पत्रकारसँग कुरा गर्दै खुर्सिदले भने, “भारत नेपालमा राजनीतिक स्थिरता चाहन्छ त्यसैले, त्यहाँका राजनीतिक दलहरुबीच सहमति जुटाउने प्रयास भइरहेको छ ।” नेपाल भारतको नजिकको सम्बन्धका कारण नेपालको मामिलामा भारतको चासो हुनु स्वभाविक रहेको पनि उनले बताए ।
भारतीय राष्ट्रपतिलाई निम्तो
११ पुसमा राष्ट्रपति रामवरण यादव र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच भेटवार्ता भएको छ । बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा नेपालको राजनीतिक गतिरोध र दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।
भेटमा राष्ट्रपति यादवले भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । जवाफमा राष्ट्रपति मुखर्जीले उपयुक्त समय मिलाएर नेपाल आउने वचन दिएको शीतल निवास स्रोतले जनाएको छ ।
राष्ट्रपतिसँगको भेटमा नेपालका तर्फबाट सिँचाइमन्त्री महेन्द्र यादव र परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई तथा भारतका तर्फबाट विदेश सचिव रञ्जन मथाई र नेपालका लागि भारतीय राजदुत जयन्तप्रसादको सहभागिता थियो ।
आजै राष्ट्रपति यादवसँग प्रधानमन्त्री मनमोहन सिंह, उपराष्ट्रपति हमिद अन्सारीलगायतका नेताहरूले पनि भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय रक्षामन्त्री एके एन्टोनी, गृहमन्त्री सुशीलकुमार सिन्देले भने राष्ट्रपति यादवसँग १२ पुसमा मात्रै भेट गर्ने कार्यक्रम तय भएको छ । भोलि नै राष्ट्रपतिले भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँच गराउने छन् ।
वनारस हिन्दू विश्वविद्यालयले प्रदान गरेको “डाक्टर अफ ल” को मानार्थ उपाधि ग्रहण गरेपछि राष्ट्रपति यादव १० पुसमा नयाँ दिल्ली पुगेका हुन् ।

