समाचारबुधबार, पौष ११, २०६९
अब वार्ताको औचित्य छैनः गगन थापा
११ पुसमा राजधानीमा आयोजित एक अन्तरक्रियामा थापाले एकीकृत माओवादीले वार्ताको नाटकमात्र गरेकाले वार्ताको औचित्य नभएको भन्दै आन्दोलनमा जान पार्टी नेतृत्वलाई आग्रह गरे ।
केही दिनअघि सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बाबुराम भट्टराईको सन्देश लगेको भनिएका थापाले प्रधानमन्त्रीले आफैं भेट्न बोलाएर भ्रामक प्रचार गरी आफूलाई बदनाम गर्न खोजेको बताए । उनले कांग्रेस सरकारमा सहभागी नभएसम्म अध्यक्ष पुष्पकमल दाहालले सहमति गरेपनि प्रधानमन्त्रीले सरकार नछोड्ने बताएको खुलासा गरे ।
वर्तमान सरकारमा नेपाली कांग्रेस कुनै पनि हालतमा सहभागी नहुने भन्दै युवा नेता थापाले आन्दोलनबाट सरकारलाई बिस्थापित गर्नुको विकल्प नभएको जिकिर गरे । उनले प्रधानमन्त्री भट्टराई र अध्यक्ष दाहालले एक अर्कालाई दोषी देखाएर अहिलेको प्रक्रियालाई लम्ब्याउने षड्यन्त्र मात्र गरेको दाबी गरे ।
अब बहुमतबाट प्रधानमन्त्री
नेता थापाले अब दलहरुबीच सहमति नहुने अवस्था भएकोले बहुमतबाटै नयाँ प्रधानमन्त्रीको चयन गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
“एमाओवादीले २०७१ सालको वैशाख भन्दा अघि निर्वाचन गराउन चाहेको छैन,” थापाले भने, “अब बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छान्न केही दिनको अल्टिमेटम दिएर आन्दोलनमा जानुपर्छ । ” उनले एमाओवादीको अभिष्ट सत्ता लम्बाउनु मात्रै रहेकाले कुनै हालतमा सत्ता नछोड्ने अडानमा रहेका प्रधानमन्त्री भट्टराईलाई हटाएर बहुमतकै सरकार गठनको प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
