समाचारबुधबार, पौष ११, २०६९
पुनःस्थापना हुँदैन, दाहाललाई पनि स्वीकारिंदैनः कोइराला
“पुनःस्थापना टुङ्गिसकेको विषय हो, राजनीतिक दललाई भ्रममा पार्ने कुनै नयाँ प्रस्तावलाई अब काँग्रेस मान्दैन”, सभापति कोइरालाले आफ्नै निवासमा पत्रकारहरुसँग भने । साथै उनले सहमतिको विकल्पका रुपमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा स्वीकार्न नसकिने पनि प्रष्ट पारेका छन् । उनले भने, “त्यो कुरालाई (अध्यक्ष दाहाललाई) कुनै पनि हालतमा स्वीकार्न सकिँदैन ।”
एमाओवादीबाट जहिले पनि भ्रमको खेती हुने गरेको बताउँदै कोइरालाले अध्यक्ष दाहाल र नेकपा एमालेलगायतका पार्टीहरुले भनेकै आधारमा आफूले उम्मेदवारी प्रस्तुत गरेको बताए । “उम्मेदवारी दिन म आतुर थिइनँ र प्रधानमन्त्री भएर के के न गर्छु भन्ने पनि थिएन तर, अध्यक्ष दाहालले पनि उम्मेदवारी दिएपछि एउटा बाटो लाग्छ भन्नुभयो । उम्मेदवारी नदिए एमालेबाटै अर्को उम्मदेवारी दिइने कुरा आएपछि केन्द्रीय समितिमा प्रस्ताव राखेर निर्णय लिइएको हो,” कोइराला विस्तारमा सुनाए ।
अहिले सहमति खोज्ने दिशामा केही क्रियाकलाप अघि नबढेको र दलहरुबीच पनि कुराकानी नभएको बताउँदै कोइरालाले राजनीतिक निकासका लागि कांग्रेसले वार्ता, आन्दोलन र संवैधानिक उपायलाई सँगसँगै अवलम्बन गरिरहेको बताएका थिए । रासस
