समाचारशुक्रबार, पौष १३, २०६९
छैठौं समय पनि त्यत्तिकै सकिने संभावना
छैटौं पटक दिएको समय सकिनै लाग्दा पनि दलहरुले संयुक्त छलफल गरेका छैनन् । १९ पुसमा दलहरुसँग छलफल गरेर राष्ट्रपति भारत जाँदा आफू स्वदेश फर्कंदासम्म सहमति होस भनेर गएका थिए भने नेताहरुले पनि संधै झैं सहमति गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।
यसबीच सत्तापक्षीय दलहरुको गठबन्धनले २५ पुससम्म प्याकेजमा सहमति भए विपक्षी दलको नेतृत्वलाई स्वीकार्न सकिने निर्णय गरेको छ । तर, यसअघि सत्तापक्षले अघि सारेका विकल्पहरु वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने वा सत्तारुढ घटकबाटै नयाँ नेतृत्व चयन गर्नेलाई कायमै राख्दै संसद पुनःस्थापनको विषयमा पनि जोड दिएको छ ।
प्याकेजमा सहमति भए विपक्षीको नेतृत्व स्वीकार्न सकिने निर्णयले सहमतिको ढोका खोलेको भन्ने विपक्षी दलहरुले प्रतिक्रिया जनाए पनि पुनःस्थापनको टुंगिसकेको बहसलाई फेरि ब्युँताउनुले भने सहमति हुनेमा अझै अन्यौल छ ।
