समाचारशुक्रबार, पौष १३, २०६९
बिन्दु हत्या प्रकरण– पोष्टमार्टम रिपोर्टप्रति प्रहरीको शंका
जिल्ला अस्पताल कलैयाले १३ पुसमा प्रहरीलाई उपलब्ध गराएको पोष्टमार्टम रिपोर्टमा, विन्दुको आगोले जलेर मृत्यु भएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी अधिकृतले शवको प्रकृति हेर्दा सामान्य जलेकै कारण बिन्दुको मृत्यु हुन नसक्ने बताए । मृतक बिन्दुको शरिरको माथिल्लो भागको छाला मात्रै जलेकाले मृत्युको कारण अरु नै हुन सक्ने प्रहरीले बताउँदै आएको छ ।
कलैया अस्पतालका डाक्टरहरु अभिषेक सिंह, प्रकृति उर्जा र राजु कुशवाहाको टोलीले विन्दुको शव पोष्टमार्टमको रिपोर्ट तयार पारेको हो । प्रहरीलाई बुझाइएको पोष्टमार्टम रिपोर्टमा मृत्युको समय समेत खुलाइएको छैन । यसबारेमा सोध्दा डाक्टर अभिषेक सिंहले तीन जनाको टोलीले शव परिक्षण रिपोर्ट तयार पारेको हुँदा आफूले केही प्रतिकृया दिन नमिल्ने बताए ।
यसै बिच प्रहरीले बिन्दुको हत्याको घटनामा परिवारको सदस्यको मिलोमतो रहेको आशंका गर्दै मृतक बिन्दुका बुबा रामा ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घट्नाको अहिलेसम्मको अनुसन्धानबाट बाहिरी व्यक्तिबाट हत्या भएको जस्तो नदेखिएकोले मृतकका बुबा रामा ठाकुरलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए । बिन्दुको हत्या प्रमाण नष्ट हुने गरी चलाखीपूर्ण तरीकाले गरिएको प्रहरीको भनाई छ । स्थानीयवासीले बताए अनुसार रामा ठाकुरले केही महिना अगाडी गाँउकै एक युवकसँग बिन्दुको हिमचिम बढेको बिषयलाई लिएर छोरीलाई हप्काएका थिए ।
बारा प्रस्टोका–५ का रामा ठाकुरकी छोरी बिन्दुको शव ११ पुस बिहान जलेको अवस्थामा घरभन्दा करीब सय मिटर टाढा बाँसको झ्याङमा जलेको अवस्थामा फेला परेको थियो । अली असगर, वीरगञ्ज
