समाचारशनिबार, पौष १४, २०६९
लडाकुलाई सेनाबाट बाहिरिने अवसर
माओवादी लडाकुको रेखदेख, पुनःस्थापना तथा समायोजनसम्बन्धी विशेष समितिकोे सचिवालयमा १४ पुसमा बसेको बैठकले तालिमका क्रममा केही लडाकुहरुले बाहिरिने इच्छा देखाएका कारण यस्तो अवसर प्रदान गर्न लागिएको हो । तर बैठकले तालिम छाड्दा उनीहरुले सुविधा पाउने वा नपाउने भन्नेबारे कुनै टुङ्गो लागेन ।
बैठकले तालिममा छनोट भइसके पनि विभिन्न कारण देखाउँदै स्वेच्छिक अवकाशका लागि निवदेन दिएकाहरुलाई तालिम छोड्न अनुमति दिने निर्णय गरिएको विशेष समितिका सदस्य भीम रावलले जानकारी दिए । उनले भने, ‘‘तालिममा नसक्नेहरुलाई मानवीय हिसाबले मुक्ति दिन सेनालाई सहमति दिने निर्णय गरिएको छ, अन्य कुनै विषयमा निर्णय भएन ।”
विशेष समितिको बैठकमा एमाओवादीले तालिम छाड्ने लडाकुलाई कम्तीमा ७५ नभए ५० प्रतिशत रकम दिइनुपर्ने प्रस्ताव गरेका थिए । तालिममा ७१ अधिकृतसहित एक हजार ४४२ जनाले नेपाली सेनामा समायोजन हुन सैनिक तालिम लिइरहेकामा ४० भन्दा बढी लडाकुले तालिम छाड्ने इच्छासहितको निवेदन दिएका छन् ।
आजको बैठकमा सचिवालय संयोजक बालानन्द शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल भए पनि कुनै निर्णय भने भएन ।
