समाचारसोमबार, पौष १६, २०६९
विन्दुको हत्या परिवारबाटैः प्रहरी
जिल्ला प्रहरी कार्यालय बाराले १६ पुसमा पत्रकार सम्मेलन गरी बिन्दुका बुबा रामा ठाकुरले बिन्दुको हत्या गरी शवलाई घर नजिकैको बाँसघारीमा लगेर जलाएको बताएको छ । घटनास्थलबाट मृतक बिन्दुका बुबा रामा ठाकुरको टर्च लाइट फेला परेको र उनको शव जलाउनका लागि प्रयोग गरिएको मट्टितेलको भाँडो पनि घरभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिए । बिन्दुको जलेको शरिरलाई घरबाट लगेको सलले छोपेको अवस्थामा फेला परेकोले पनि हत्यामा पारिवारिक संलग्नता रहेको पहिलेदेखि नै शंका लागेको घिमिरले बताए ।
प्रहरीका अनुसार गाँउकै एक युवकसंग प्रेम सम्बन्ध राखेको निहुँमा रामा ठाकुरले आफनो छोरी बिन्दुको हत्या गरेका हुन् । हत्यामा थप को को संलग्न थिए भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बारा प्रस्कोटाकी बिन्दु ठाकुरको शव ११ पुस बिहान घर नजिकै बाँसको झ्याङमा जलेको अवस्थामा फेला परेको थियो भने परिवारका सदस्यहरुले टयुसन पढन हिंडेकी उनको हत्या अरु कसैले गरेको दाबी गर्दै आएका थिए ।
यसै बीच हत्याका आरोपी रामा ठाकुरलाइ प्रहरीले आजै जिल्ला अदालतबाट १५ दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ । अली असगर, वीरगन्ज
