समाचारमंगलबार, पौष १७, २०६९
डिआइजी बढुवा प्रक्रिया रोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेपाल प्रहरीका पाँचजना एसएसपीलाई डिआइजीमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै सरकारसँग लिखित जवाफ समेत मागेको छ ।
न्यायाधीशद्वय रामकुमार प्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलासले डिआइजी बढुवाविरुद्ध परेको रिटमाथि १७ पुसमा प्रारम्भिक सुनुवाई गर्दै यस्तो निर्णय सुनाएको हो । सर्वोच्चले ९ पुसमा बढुवा सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
४ पुसको मन्त्रिपरिषद बैठकले ‘कार्यक्षमता’का आधारमा भन्दै पाँचजना एसएसपीलाई डिआइजीमा बढुवा गरेको थियो । २०४३ सालमा सेवा प्रवेश गरेका ८ जना एसएसपीहरुमध्ये एकजना र २०४४ सालमा सेवा प्रवेश गरेका २६ जना एसएसपीमध्ये रोलक्रम अनुसार पहिलो चार नम्बरमा रहेका चारजना एसएसपीलाई डिआइजीमा बढुवा गरिएको थियो । यो निर्णय विरुद्ध २०४३ सालको व्याचका एसएसपीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।
१७ पुसमा सर्वोच्चले दोस्रो आदेश सुनाउँदै अन्तरिम आदेशलाई निरन्तरता दिँदै १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हो । सर्वोच्चले १५ र १६ पुसमा सम्बन्धित प्रहरी अधिकारीहरुसँग बयान लिएको थियो ।
यसैबीच १७ पुसमा २०४४ को व्याचका दुइजना एसएसपी गोविन्द निरौला र देवेन्द्र सुवेदीले पनि डिआइजी बढुवाको निर्णय विरुद्ध परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।
