समाचारबुधबार, पौष १८, २०६९
कोइरालाको विकल्प नखोजिनेः विपक्षी
नेपाली कांग्रेस र नेकपा एमालेको १८ पुसमा बसेको संयुक्त बैठकले कांग्रेस सभापति सुशील कोइरालालाई आफूहरुले सहमतिको प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिसकेको अवस्थामा उनको विकल्प नखोज्ने निर्णय गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको दुई दलको बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले भने, “कोइरालाको विकल्प खोज्ने एमाओवादीको प्रस्ताव सत्ता लम्ब्याउने अर्को चालमात्रै हो ।” उनले कोइरालाको विकल्प खोज्न एमाओवादीले गरेको पछिल्लो प्रस्ताव मान्य नभएको बैठकले निर्णय गरेको जानकारी दिए ।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस नेतृत्वबाहेकको विकल्पमा सहमति खोज्न नेपाली काँग्रेस र नेकपा एमालेसमक्ष प्रस्ताव प्रस्तुत गरेपछि दुई दलको बैठक भएको हो ।
त्यस्तै, बैठकले राष्ट्रपति डा रामवरण यादवले सहमतिको सरकार गठनका लागि तोकेको पछिल्लो समयसीमाभित्रै सहमतिको सरकार गठनका लागि निरन्तर प्रयास गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार आगामी वैशाखमा चुनाव गराउने पक्षमा नरहेको आरोप लगाउँदै राष्ट्रिय सहमतिको सरकार गठनका लागि कांग्रेस र एमालेले अन्तिम समयसम्म प्रयत्न गरिरहने बताए । उनले भने, “पुस २० गतेसम्ममा सहमति हुनेमा हामी आशावादी छौँ ।” उनले दलहरुबीच सहमति गरी संविधानसभाको निर्वाचन वैशाखमा गर्नुको विकल्प नरहेको प्रष्ट पारेका थिए ।
