समाचारशनिबार, पौष २१, २०६९
समयभित्रै सहमति हुन्छ: गच्छदार
राजनीतिक निकासका लागि सहमति बाहेक अन्य कुनै विकल्प नभएको बुझ्दाबुझ्दै पनि दलहरु बखेडा झिक्नमै व्यस्त रहेको बताउँदै उनले यस पटक सहमति हुने विश्वास व्यक्त गरे । सप्तरी सदरमुकाम राजविराजमा २१ पुसदेखि धर्मादय सभाको आयोजनामा शुरु भएको ११ औं राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै मन्त्री गच्छदारले सहमति बाहेक संक्रमणकाल हटाउने अन्य कुनै बिकल्प नभएको बताए । उनले सहमतिमा पुग्न दलहरुबीच घनिभूत छलफल भइरहेको भन्दै राष्ट्रपतिले २५, पुससम्म दिएको समयभित्र सहमति हुने दावी गरे ।
एकअर्को प्रसङ्गमा मन्त्री गच्छदारले सम्पूर्ण नेपाली भगवान गौतम बुद्धको सन्तान भएकाले बुद्धको उपदेशलाई मनन् गरी देशमा अमन चयन र शान्तिको कामना गर्नु आवश्यक भएकोमा जोड दिए ।
सम्मेलनमा जापान, चीन, थाईल्याण्ड र म्यानमार लगायतका देशका राजदूत तथा धर्मगुरुहरुको सहभागिता छ भने मुलुकका ४२ जिल्लाका शाखा पदाधिकारी, आजीवन सदस्य, बौद्ध धर्मका बिशिष्ट व्यक्तित्वहरु गरी करिब ५ सय भन्दा बढीको सहभागी छन् ।
श्रवणकुमार देव, सप्तरी

