समाचारआइतबार, पौष २२, २०६९
भक्तपुरमा भीषण आगलागी, एकै परिवारका तीनजनाको मृत्यु
राति करिब १२ बजे पूर्णभक्त प्रजापतिको घरमा लागेको आगलागीमा परेर उनका परिवारका तीनजनाको मृत्यु भएको हो । आगलागीमा पूर्णभक्तकी श्रीमती ६४ वर्षीया लक्ष्मीकेशरी प्रजापति, जेठी छोरी ३९ वर्षीया पार्वती प्रजापति र माइली छोरी २६ वर्षीया सजना प्रजापतिको ज्यान गएको छ ।
आगो लागेको थाहा पाएपछि घरबाहिर निस्किएका पूर्णभक्त र कान्छी छोरी २४ वर्षीया सिर्जना प्रजापति भने बाँच्न सफल भएका छन् ।
चौथो तल्लामा सुतेका दुईवटी छोरी पार्वती र सजनालाई उठाउन जाँदा आमा लक्ष्मीकेशरीको समेत आगोमा परेर मृत्यु भएको स्थानीय प्रत्यक्ष्यदर्शीले बताएका छन् ।
तेस्रो तल्लामा सुतेका पूर्णभक्त र सिर्जना आगो लागेको थाहा पाएलगत्तै बाहिर निस्केका र लक्ष्मीकेशरी भने छोरीलाई बचाउने उद्देश्यले चौथो तल्लामा गएपछि आगोमा परेको परिवार स्रोतले बताएको छ । लक्ष्मीकेशरीको घरको झ्यालबाट गुहार माग्दा माग्दै ज्यान गएको प्रत्यक्ष्यदर्शीले बताएका छन् ।
मृतकहरूको शव प्रहरीले आज बिहान ५ बजे घरबाट बाहिर निकालेको छ । राति करिब १२ बजे लागेको आगो बिहान करिब ३ बजेमात्र नियन्त्रणमा आएको थियो ।
भक्तपुर, काठमाडौँ, ललितपुर र प्रहरीको सातवटा दमकल, भक्तपुर र ठिमीका प्रहरी, दुवाकोटका सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नेवारी परम्पराअनुसार सबै आफन्तलाई भोज नखुवाएसम्म योमरी पूर्णिमाको चाड रहिरहने भएकाले आफन्तलाई भोज खुवाउन हिजो दिउँसोदेखि राति अबेरसम्म आगो बालेर योमरी र अन्य खानेकुरा पकाएकाले त्यही आगोको भुङ्ग्रोबाट आगलागी भएको बताइएको छ ।
साँघुरो घरमा राति अबेरसम्म तेस्रो तल्लाको भान्छामा योमरी पकाएको र चौथो तल्लामा पराल, छ्वालीलगायतका सामानहरू राखेकोले तेस्रो तल्लाबाट सल्केको आगो चौथो तल्लामा पुगेपछि मात्र परिवारले आगलागी भएको थाहा पाएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा राम्रोसँग आगो ननिभाई सुतेकाले आगो लागेको र परिवारका सबैजना मध्यनिद्रामा परेकाले आगो लागेको समेत ढिलामात्र थाहा पाएकाले तीनजनाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले जानकारी दिए ।
स्थानीयवासीले समेत आगो लागेको ढिला मात्रै थाहा पाएका र प्रहरी तथा दमकललाई समेत ढिला खबर पुगेकाले धनजनको सुरक्षा गर्न नसकेको प्रहरीको भनाइ छ । आगलागीबाट घरका सम्पूर्ण सामान जलेर नष्ट भएकाले रु २० लाखभन्दा बढीको भौतिक क्षति भएको प्रहरीको भनाइ छ ।
आगो सल्किएर सँगै जोडिएका घर र ब्रह्मायणी द्यो छँे अर्थात् देवता घरमा समेत आगो सल्किने देखेपछि प्रहरीले आगो फैलिन नदिन अन्य घरलाई समेत बचाउ गरेको आगलागी नियन्त्रणमा खटिएका प्रहरी नायब निरीक्षक भगवान भण्डारीले बताए । रासस
