समाचारमंगलबार, पौष २४, २०६९
‘प्रधानमन्त्रीको भनाईले हत्या अनुसन्धान प्रभावित हुने’
प्रधानमन्त्री भट्टराईले राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार थापाको हत्याका अभियुक्तहरू पक्राउ परेकोमा सरकारको असहमति रहेको भन्ने धारणासम्बन्धमा कानुन व्यावसायीहरूले यस्तो प्रतिक्रिया जनाएका हुन । नेपाल बार एसोसियसनका अध्यक्ष प्रेमबहादुर खड्का सरकार आफै वादी रहेको मुद्दामा मुलुकको कार्यकारी प्रमुखको यस्तो धारणा आउनुमा हत्या अनुसन्धान प्रभावित पार्ने मनशाय लुकेको बताउँछन् । खड्काले हिमालखबरसँग भने, “अनुसन्धान भईरहेको मुद्दाको विषयमा यस्तो धारणा आउनु कानुन मान्दिन भन्नु हो ।”
अधिवक्ता टीकाराम भट्टराई प्रधानमन्त्रीको भनाईलाई संविधान, फौजदारी न्याय र मुलुकमा भईरहेको कानुनी अभ्यास विपरीत भन्न रुचाउँछन् । प्रधानमन्त्रीको धारणाले दण्डहिनतालाई खुला प्रश्रय दिएको उनको ठहर छ ।
यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले प्रधानमन्त्रीले कानुन व्यवस्थालाई निस्क्रिय बनाउने प्रयास गरेको बताउँछन् । गाउँले भन्छन्, “यस्तो धारणा आउनु पनि घटना जत्तिकै ठूलो अपराध हो ।”
