समाचारशुक्रबार, पौष २७, २०६९

सर्वदलीय बैठकः सहमतिको सम्भावना न्युन

हिमालखबर

२७ पुस विहान ९ बजे राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका बारेमा छलफलका लागि विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए । बैठकमा चर्को विवाद भएपछि कुनै निष्कर्ष निक्लन नसकेको बैठकबाट बाहिरिएका नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रपतिले दलहरु मिल्नुको विकल्प नभएको भन्दै यथाशिघ्र सहमतिको सरकार गठन गरी निर्वाचनमा जान नेताहरुलाई आग्रह गरेका थिए । सत्तापक्षीय नेताहरुले प्याकेजमा सहमतिको आफ्नो पुरानै अडान दोहोर्‍याए भने विपक्षी दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन सहमतिको पहिलो शर्त भएको अडान राखे ।

बैठकपपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले देश जटिल अवस्थामा पुग्दा पनि एमाओवादीले बेवास्ता गरेको भन्दै सहमति हुने सम्भावना न्युन रहेको बताए । मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुले सत्ता लम्बाउने र देशमा ब्रह्मलुट मच्चाउने बाहना खोजिरहेकोले उनीहरुले सहमति नचाहेको प्रतिक्रिया दिए ।
बैठकबाट बाहिरिने क्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज राष्ट्रपतिले विभिन्न विकल्प पनि प्रस्तुत गरेकाले अन्तिममा केही न केही ठोस सुझाव दिने बताएका थिए । यस्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विशेष गरी कांग्रेसलाई निषेध गर्ने रणनीतिमा एकीकृत माओवादी रहेको दाबी गर्दै यस्तै अवस्थामा सहमति नहुने बताए ।

नेकपा माओवादीका सचिव देव गुरुङले प्रधानमन्त्रीले राजिनमा दिएपछि मात्र सहमति संभव भएको बताए भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज राष्ट्रपतिले अरु विकल्पहरु पनि दिएर छलफल चलाएकाले केही सकारात्मक संकेत आफूले पाएको पत्रकारहरुलाई जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>