समाचारशनिबार, पौष २८, २०६९
डोटीमा बस दुर्घटना, तीसको मृत्यु
अछामको जयगढबाट कैलालीको टीकापुर तर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ३६०६ नम्बरको बस गए राति २:३० बजे रुवसकाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते हुनेको संख्या १२ रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक बालक, ७ महिला र २२ पुरुष छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।
घाईते हुनेमा अछाम कालिका गाविसका तपेन्द्र रावल, ईन्द्रसरा खड्का, पबित्रा बोहरा, मंगलसेनका जनक रेग्मी, अछाम दर्ना– ९ की गुलावी रावल र उनकी दुई वर्षिया छोरी मञ्जु र वतन खुल्न नसकेकेका किशोर चौधरी छन् । घाईतेमध्ये ६ जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भईरहेको छ । तीन जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ ।
२७ पुस दिउँसो ३ बजे जयगढबाट टीकापुरका लागि हिडेको बस सडकमा जमेको शितका कारण चिप्लिएर सडकबाट झण्डै एक हजार मिटर तल खसेको घट्नास्थलमा रहेका प्रहरी निरीक्षक दिलिपसिंह भण्डारीले जानकारी दिए । एक वर्षभित्र छतिवनमा भएको यो तेस्रो दुर्घटना हो ।
दीर्घराज उपाध्याय, धनगढी
