समाचारशनिबार, पौष २८, २०६९
नेपाल बारको चुनाव आज
नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनमा ३३ वटा मतदान केन्द्रमार्फत् कूल आठ हजार दुईसय ९५ मतदाता कानून व्यवसायीले मताधिकार प्रयोग गर्दैछन् । अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र नौ केन्द्रीय सदस्य पदका लागि हुने निर्वाचनमा कूल ४५ उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन् । नयाँ कार्यसमितिका लागि तीन समूहबाट उम्मेद्वारी परेको छ ।
नेतृत्वका लागि नेपाली कांग्रेस सहित अन्य प्रजातान्त्रिक पार्टीहरुको समर्थनमा लोकतान्त्रिक समूहबाट शेरबहादुर केसी, एमाले, माओवादी लगायतका पार्टीहरुको समर्थनमा प्रगतिशील एवम् गणतान्त्रिक समूहबाट हरिकृष्ण कार्की र सदभावना लगायत केही साना दलहरुको तर्फबाट सङ्घीयतावादी समूहका सुरेन्द्र थापामगरले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । महासचिव पदका लागि प्रजातान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल, प्रगतिशील एवम् गणतान्त्रिक समूहका दिनमणि पोखरेल र सङ्घीयतावादी समूहका जगदेव चौधरीबीच प्रतिस्पर्धा हुँदै छ ।
चुनाव बिहान ९ बजे शुरु भएर ४ बजे सकिने छ ।
