समाचारशनिबार, पौष २८, २०६९
द्वन्द्वकालिन घटना नकोट्याऊ: प्रधानमन्त्री
क्रान्तिकारी पत्रकारसंघ ललितपुरले २८ पुसमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालिन अवधिमा भएका हरेक घटनाको छुट्टाछुट्टै छानिविन भए कसैको भलो नहुने चेतावनी समेत दिएका छन् । उनले भने, “यस्ता घटना छानविन हुँदै जाने हो भने तत्कालिन परिस्थितिका लागि जिम्मेवार भएका हामी लगायत कांग्रेस, एमाले लगायतका कोही साथी बाँकी रहँदैनौं ।” उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेरमात्रै यस्ता घटनाको छानविन हुनुपर्ने जिकिर गरे ।
तर, विगत ६ वर्षदेखि सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको चर्चा चले पनि त्यस्तो आयोग अहिलेसम्म गठन हुन सकेको छैन भने सरकारले विभिन्न अपराधका मुद्दाहरुलाई द्वन्द्वकालमा भएका नाममा फिर्ता लिने निर्णय गरिरहेको छ । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका व्यक्तिसमेत खुलेआम प्रधानमन्त्रीकै वरिपरी देखिन्छन् ।
अन्तरक्रियामा प्रधानमन्त्रीले विरोधीहरुले आफूलाई अपराधीको संरक्षको रुपमा चित्रित गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले भने, “विरोधीले मलाई अपराधीको संरक्षकको रुपमा चिनाएका छन्, सत्य निरुपण तथा मेलमिलाप आयोगले छानबिन गरी दोषि ठहर गरेकालाई कारबाही गर्दा मेरो आपत्ति छैन ।”
