समाचारशनिबार, पौष २८, २०६९
कोइराला असम्भवः एमाओवादी
नेकपा एमालेले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि पहल गर्दै नेपाली कांग्रेस र एनेकपा माओवादीका नेताहरुसँग छलफल बढाएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासमा २८ पुस बिहान भएको छलफलमा एमालेले कांग्रेस सभापति कोइरालालाई प्रधानमन्त्रीमा समर्थन जनाउन आग्रह गरेको थियो । जवाफमा एमाओवादीले कोइरालालाई नस्वीकार्ने अडान राखेको हो ।
दुवै दलका शीर्ष नेताहरुको छलफलपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई सहमतिको सरकारका प्रधानमन्त्रीका रूपमा समर्थन जनाइसकेको र एनेकपा माओवादीले पनि पहिले कोइरालाको नाममा समर्थन जनाएको हुनाले उनकै नाममा सहमतिको लागि आग्रह गरेको बताए । नेता नेपालले भने, “हामीले सुशील कोइरालाको नाममा समर्थन गरिसकेको हुनाले त्यसलाई स्वीकार्नुस्, पहिले तपाईहरुले नि मानिसकेको भन्ने कुरा भन्यौँ, उहाँहरुले त्यो सम्भव छैन भन्नुभयो ।”
यसअघि आजै बिहान नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच काँग्रेस सभापति कोइराला निवासमा छलफल भएको थियो ।
सो छलफलमा एनेकपा माओवादीले अनेक बहाना र विकल्प बनाएर चुनाव टार्ने र देशमा निरंकुशता एवं सर्वसत्तावाद लाद्न खोजेको भन्दै अब आन्दोलनमा जानुपर्नेमा जोड दिइएको थियो । साथै काँग्रेस सभापति कोइरालालाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा दृढतापूर्वक समर्थन गर्ने निर्णय भएको थियो ।
सो भेटलगत्तै एमालेका शीर्ष नेताहरु अध्यक्ष दाहाल निवास लाजिम्पाट पुगेका थिए । रासस
