समाचारशनिबार, पौष २८, २०६९
प्रम र महान्यायाधिवक्ताको प्रयासप्रति आपत्ति
टेलिभिजन एडिटर्स गिल्ड नेपालले २८ पुसमा काठमाडौंमा गरेको कार्यक्रममा बरिष्ठ पत्रकारहरुले न्यायिक प्रक्रियामा गइसकेको विषयलाई प्रधानमन्त्री र महान्यायाधिवक्ताले हस्तक्षेप गरेर कानूनी शासनको खिल्ली उडाएको भन्दै आपत्ति जनाएका हुन् । सञ्चारकर्मी द्वन्द्वको पक्ष र विपक्ष हुन नसक्ने भन्दै उनीहरुले पत्रकारको हत्यामा संलग्नलाई राज्यले कारबाही गर्नुपर्ने बताए । द्वन्द्वकालमा भएको भन्दैमा द्वन्द्वसँग असम्बन्धित पक्षमाथि भएको ज्यादतिमाथि कार्वाही नगरिनुले सरकारले अपराधीलाई संरक्षण गर्न खोजेको प्रष्ट भएको उनीहरुको धारणा थियो ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वसभापति हरिहर विरहीले मानवताविरोधी अपराधमा संलग्नलाई कारबाही गर्नसक्ने नैतिक साहस वर्तमान सरकारमा नभएको बताए । सम्पूर्ण पत्रकार एकजुट भएर पत्रकार थापाको हत्यामा संलग्नलाई कारबाहीका लागि दबाब दिनुपर्नेमा विरहीले जोड दिए । त्यस्तै, पत्रकार युवराज घिमिरेले डेकेन्द्र थापाका हत्याका आरोपीलाई न्यायिक निकायमा लैजाने तयारीविरुद्धको सरकारी प्रयासलाई माथिल्लो न्यायिक निकायले असफल बनाउनुपर्ने विचार व्यक्त गरे । महासंघका पूर्वसभापतिद्वय तारानाथ दाहाल र सुरेश आचार्यले पत्रकार थापाको हत्याका आरोपीमाथि कानूनी प्रक्रिया अगाडि नबढाउन प्रधानमन्त्री र महान्यायाधिवक्ताले दिएको निर्देशन आपत्तिजनक भएको बताउदै यो घटनालाई द्वन्द्वसँग जोड्न नहुने बताएका थिए ।
