समाचारशनिबार, पौष २८, २०६९
नबजात शिशुमाथि दुई आमाको दाबी
धनुषा जिल्लाको खरिहानी–५ बस्ने सङ्गीतादेवी साहलाई प्रसव पीडा हुनथालेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा उनले बीच बाटामै
नवजात शिशुलाई जन्म दिएकी थिइन् । नवजात शिशु र आमालाई थप उपचारका लागि सो अस्पतालको प्रसूति वार्डमा भर्ना गरियो । उता सोही समयमा महोत्तरीको लक्ष्मीनियाँ–५ बस्ने रेणुदेवी महतोलाई पनि प्रसवपीडा शुरु भएकाले उनलाई सोही वार्डमा भर्ना गरिएको थियो ।
साह र महतोको शय्या एकै ठाउँमा थियो । २८ पुस बिहान ८:१५ बजे महतोले पनि एक नवजात शिशुलाई जन्म दिइन् । त्यहाँ राखिएका दुई शिशुमा एउटा छोरा र अर्को छोरी थियो । कसले छोरो जन्माएकी थिइन् भन्ने कुरा त्यहाँ रहेकी परिचारिकाले समेत ठम्याउन सकेनन् । यस्तैमा ‘मेरो छोरो साटियो’ भनेर दुई पक्षबीच विवाद शुरु भयो । यो विवादले केहीबेर अस्पताल परिसर तनावग्रस्त बनेको अस्पतालको प्रहरी विटका प्रहरी हवल्दार सन्तोष सिंहले बताए ।
विवाद चर्किंदै जाँदा प्रहरीले दुवै आमा र नवजात शिशुको डिएनए परीक्षणका लागि नमूना काठमाडौं पठाएको प्रहरी निरीक्षक गोविन्द पुरीले बताएका छन् ।
रासस
