समाचारशनिबार, पौष २८, २०६९
आन्दोलन गर्नै पर्ने विपक्षीको निष्कर्ष
२८ पुसमा काठमाडौंको बानेश्वरस्थित एक होटेलमा भेला भएका ९ विपक्षी दलका नेताहरुले सरकारविरुद्ध साझा कार्यक्रम बनाएर सशक्त आन्दोलन गर्नु पर्ने निर्णय गरेका हुन् ।
छलफलमा सहभागी नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्तारुढ दलहरुले निर्वाचन नचाहेको र सरकार हिंसा र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै विपक्षी दलहरुबीच आन्दोलन चर्काउने सहमति भएको जानकारी दिए । त्यस्तै एमाले नेता केपी ओलीले बैठकमा वर्तमान राजनीतिक अवस्थाका बारेमा समीक्षा भएको र अब ठोस निष्कर्षसहित साझा कार्यक्रम बनाएर अघि बढ्ने बताएका छन् ।
राष्ट्रपतिले सहमतिका लागि पछिल्लो पटक दिएको समयसीमा १ माघसम्म पनि सहमति नभए अर्को बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिने बताइएको छ । यसअघि पनि आन्दोलन शुरु गरेका विपक्षी दलहरुले राष्ट्रपति रामवरण यादवले गत ८ मंसीरमा पहिलो पटक सहमतिका लागि औपचारिक आह्वान गरेपछि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका थिए ।
