समाचारआइतबार, पौष २९, २०६९
श्रीलंकामा प्रधानन्यायाधीश बर्खास्त
संसदले उनलाई भ्रष्टाचारको आरोपमा महाभियोग लगाएर बर्खास्त गर्न सिफारिस गरेको हो । तर, प्रधानन्यायाधीश भण्डारानायकेले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् । त्यहाँको संसदमा राष्ट्रपति महिन्दा राजापक्षेको अत्यधिक बहुमत छ ।
५४ बर्षीया भण्डारानायकेमाथि ११ सदस्यीय संसदीय समितिले गत नोभेम्बर महिनामा अनुसंधान गरी वित्तीय र प्रशासनिक अनियमितता गरेको आरोप लगाएको थियो । समितिले उनलाई पेशागत आचरण नगरेको पनि आरोप लगाएको थियो ।
भण्डारानायके नजिकका वकिलहरुले उनलाई राष्ट्रपति कार्यालयबाट बर्खास्तको सूचना प्राप्त भएको पुष्टि गरे पनि उनले भने यसबारेमा कुनै टिप्पणी गरेकी छैनन् ।
श्रीलंकाको सर्वोच्च अदालत र पुनरावेदन अदालतले गत महिनामा महाभियोगका प्रक्रियालाई खारेज गरिसकेकाले राष्ट्रपतिको पत्रका बाबजुद पनि प्रधानन्यायाधीश भण्डारानायकेले पद छोड्न अस्वीकार गर्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
प्रधानन्यायाधीशले राष्ट्रपति राजापक्षेले चाहेजस्तो निर्णयहरु नगरेपछि उनलाई महाभियोग लगाइएको त्यहाँका विपक्षी दलहरुले आरोप लगाएका छन् भने सरकार आफैंले आफ्ना कार्यकर्ताहरुलाई सडकमा प्रधानन्यायाधीशविरुद्ध प्रदर्शनमा उतारेर आफ्नो निर्णयको पुष्टयाईँ गर्न खोजेको बीबीसीले दाबी गरेको छ ।
श्रीलंकाली कुटनीतिज्ञ दयान जयतिलेकाले न्यायपालिकाको फैसलालाई पालना नगरेर संसदले उल्टै प्रधानन्यायाधीश विरुद्ध कदम उठाउनुले आफूलाई चकित बनाएको प्रतिक्रिया दिएका छन् । प्रधान्यायाधीशको बर्खास्तीले त्यहाँ न्यायालयलाई निष्क्रिय पार्ने र संवैधानिक संकट निम्त्याउने विश्लेषकहरुको दाबी छ । राजधानी कोलोम्बोमा वकिलहरुले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएकोमा विरोध जनाएका छन् ।

