समाचारसोमबार, माघ १, २०६९
हर्षोल्लासका साथ माघी मनाइँदै
बिहानै थारू महिला एवम् पुरुषले स्थानीय नदी, तलाउ र पोखरीमा गई स्नान गरी आफ्नो मान्यजनका घरमा गई टीका लाउने आशीर्वाद लिइरहेका छन् ।
कामका सिलसिलामा घर बाहिर रहेका थारू समुदायका व्यक्ति पनि परिवारसँगै बसेर माघी मनाउन घर फर्किसकेका छन् । गए रातिदेखि नै नाचगान गर्दै माघी मनाउन सुरु गरेका थारू समुदायले माघीको विशेष परिकार ढिक्री, मासु र जाँड खाने प्रचलन छ । आजको दिन थारूहरूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाई चामल, नुन, तरकारी र गेडागुडी दिने चलन छ ।
नयाँ वर्षका रूपमा मनाइने गरेको यस चाडमा थारूहरूले वर्षभरि गर्ने कामको योजना बनाउने तथा नयाँ मूलीको चयन गर्ने लगायतका निर्णय गर्छन् ।
देशभर मकर संक्रान्ति मनाईँदै
आज देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ । यस अवसरमा देवघाटलगायतका देशका ठूला नदी किनारहरुमा माघे संक्रान्ति मेला लागेको छ । माघे संक्रानितको स्नान गर्न हजारौ श्रद्धालुहरु नदी किनारमा पुगेका छन् ।
घिउ, चाकु, तरुल,तिलको लड्डु, सागपातजस्ता पोसिलो खानेकुरा खाएर यो पर्व मनाईन्छ । यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।
