समाचारसोमबार, माघ १, २०६९
एमाओवादी र मधेशी मोर्चाले सहमतिलाई प्राथमिकता दिने
१ माघमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय आवश्यकतालाई ध्यान दिँदै सरकारको तर्फबाट विशेष पहल गर्ने निर्णय गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । उनले भने, “विपक्षी दलहरु सहमतिका लागि तयार नभए पनि सहमतिका लागि अधिकतम् प्रयास गरिने निर्णय भएको छ । ”
बैठकमा सरकारले सिफारिस गरेको निर्वाचनसँग सम्बन्धित अध्यादेश राष्ट्रपतिले जारी नगरेको अवस्थामा कसरी अगाडि बढ्ने र वैकल्पिक उपाय के हुनसक्छ भन्ने विषयमा कुरा भएको मन्त्री यादवले बताए । यसैगरी राष्ट्रपति यादवले २ माघमा बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलको तर्फबाट पेश गरिने एजेन्डाका विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला दिनमा दलहरुबीच भइरहेको अनौपचारिक छलफलको विषयमा जानकारी गराएका थिए ।
पछिल्लो दिनमा आगामी वैशाखमा निर्वाचन हुने सम्भावना अन्त्य भएको र जेठको पहिलो वा दोस्रो सातासम्म सम्भावना बाँकी रहेको भन्दै पहिलो प्रयास सहमतिमा निर्वाचनकै लागि गर्ने र त्यो सफल नभए विघटित संविधानसभाको पुनःस्थापनाको विषयमा अगाडि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।
रासस
