समाचारसोमबार, माघ १, २०६९
ताजा जनादेशका लागि दलहरुलाई जनतामा जान राष्ट्रपतिको आग्रह

पञ्च स्नान : गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्रमा शुरु भएको माघे संक्रान्ति मेलामा पुगेका राष्ट्रपति रामबरण यादव कालिगण्डकीमा पञ्च स्नान गर्दै । तस्बीर: गगनशिला खड्का/गुल्मी
गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल गुल्मीको रुरु क्षेत्रमा आईतबारदेखि शुरु भएको माघे संक्रान्ति मेलालाई सम्बोधन गर्दै यादबले यस्तो बताएका हुन । नेपालका चारधाम मध्येको एक रुरु क्षेत्रको दर्शनका लागि आएका यादबले प्रमुख राजनैतिक दलहरुले आ—आफ्ना अडान त्याग्नु पर्ने बताए । उनले देश सबै मिलेर देशलाई संस्थागत गरी एउटा मूल कानुन बनाउनका लागी सबै मिल्नुको बिकल्प नभएको बताए । उनले भने “गणतन्त्र र लोकतन्त्रलाई संस्थागत गर्दै देशको विकास,जनताको चाहनालाई मुख्य बनाएर ताजा जनादेशका लागि जनतामा जानु जरुरी हुन्छ ।” उनले देशमा महत्वपूर्ण परीवर्तन भएपनि संस्थागत गर्न नसकेर समस्या भएकोले २०६३ सालको परीवर्तनलाई संस्थागत गरेर जनतामा जानुपर्ने बताए ।
राष्ट्रपति यादवले हाम्रै त्रुटीहरुले सार्वभौम संस्था संविधानसभा विघटन भएकोले त्यसलाई सच्याउन जरुरी रहेको बताए । ‘हाम्रा त्रुटीहरुले सार्वभौम संस्था सविधान सभा विदा भयो, राष्ट्रपति संस्था छ, संविधानमा अबरोध छ , सबैले मिलेर यहाँसम्म आयो, यसलाई जोगाउन सबै मिल्नुको विकल्प छैन ।’ राष्ट्रपति यादवले संविधानभित्र रहेर सबैलाई समन्वय गरेर निकास निकाल्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनले चारधाममध्येको एक रुरुक्षेत्र प्राकृतिक, ऐतिहासिक र धार्मिक रुपले निकै महत्वपूर्ण भएकोले विश्वसम्पदा सूचिमा सुचिकृत गर्न गरीएको पहललाई पूर्णता दिनुपर्ने बताए । गुल्मीमा जलासय निर्माण, पर्यटकिय गन्तव्य, कृषि उत्पादन र बन तथा वातावरण संरक्षण निर्माण गरेमा यस क्षेत्रको विकाश हुने डा यादबको भनाई छ । राष्ट्रपति यादवसंगै सरकारका मुख्य सचिव लिलामणि पौडेल, निजी सचिव ललित बस्नेत, छोरी अनिता यादव, पूर्व मन्त्री प्रदिप ज्ञवाली लगायतको टोली रिडीमा आएको थियो ।
-गगनशिला खड्का गुल्मी
