समाचारमंगलबार, माघ २, २०६९
नेकपा–माओवादीको बन्दसत्र शुरु भएन
२ माघ बिहानै शुरु हुने भनिएको बन्दसत्र शुरु हुन नसक्दा केन्द्रीय सदस्य चयनमा सहमति खोज्न अहिले प्रज्ञा भवनमा पदाधिकारी बैठक बसिरहेको छ । अध्यक्ष र पदाधिकारी चयनमा ठूलो समस्या नभएपनि केन्द्रीय सदस्यका आकांक्षी नै धेरै भएकाले मिलाउन कठिन भएको एक नेताले जानकारी दिए ।
नेतृत्व चयनको विवादका कारण नेकपा–माओवादीको महाधिवेशन पूर्वनिर्धारित समयभन्दा दुई दिन लम्बिएको हो । यद्दपी नेकपा–माओवादीले भने तयारी पूरा नभएका कारण समय थप्नुपरेको बताएको छ । स्रोतका अनुसार मोहन वैद्य पार्टीको संरक्षक रहनेगरी रामबहादुर थापाको अध्यक्षतामा पार्टीको नयाँ नेतृत्व चयन गर्ने बारेमा पनि छलफल भइरहेको छ ।
पार्टीको महासचिवमा नेत्रविक्रम चन्दलाई प्रस्ताव गरिएको महाधिवेशनमा सहभागाी एक नेताले जानकारी दिएका छन् । पार्टीको भावी कार्यदिशाको बारेमा र नेतृत्व चयनको कुरा मिले आजै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
पुस २५ गतेदेखि राजधानीमा शुरु भएको नेकपा–माओवादीको सातौं महाधिवेशन २९ पुसमै सक्ने तयारी भए पनि आजसम्म पनि महाधिवेशन सकिएको छैन ।
