समाचारमंगलबार, माघ २, २०६९
विरोध हुने भएपछि प्रधानमन्त्रीको कार्यक्रम रद्द

भूकम्पीय सुरक्षा राष्ट्रिय दिवसका अवसरमा भूकम्पबाट जोगिने अभ्यास गर्दै उपप्रधानमन्त्री विजय गच्छदार लगायत ।
१५ औं भूकम्पीय सुरक्षा राष्ट्रिय दिवसका अवसरमा गृहमन्त्रालयले भक्तपुरमा २ माघ दिउँसो आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघ भक्तपुर शाखाले कालोपट्टी बांधेर विरोध प्रदर्शन गरेको तयारी गरेको थियो । तर, सुरक्षा निकायबाट पत्रकारहरुले विरोध जनाउने जानकारी पाएका प्रधानमन्त्री भट्टराईले अचानकै उक्त कार्यक्रममा नजाने निर्णय गरेका हुन् । प्रधानमन्त्री नगएपछि कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री विजय गच्छदारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
पत्रकार डेकेन्द्रराज थापाका अभियुक्तलाई प्रधानमन्त्रीले बचाउ गरेको विरोधमा पत्रकारहरुले गृहमन्त्री गच्छदार सहभागी कार्यक्रम पनि कालोपट्टी बांधेरै समाचार संकलन गरेका थिए।
उक्त कार्यक्रममा गृहमन्त्री गच्छदारले पत्रकार थापा हत्याका आरोपीलाई जोगाउने सरकारको नीति नरहेको बताएका छन् । उच्च ओहोदामा रहेका कसैले अभियुक्तलाई जोगाउने अभिव्यक्ति वा निर्देशन दिएको भए पनि त्यो सरकारको आधिकारिक धारणा नभएको भन्दै उनले थपे, “पत्रकारहरु ढुक्क हुनुहोस, सरकारको तर्फबाट त्यस्तो योजना छैन ।”
