समाचारमंगलबार, माघ २, २०६९
सरकारविरुद्ध विपक्षीले आन्दोलन चर्काउने
२ माघमा एमाले केन्द्रीय कार्यालय बल्खुमा बसेको विपक्षी दलहरुको बैठकले पहिलो चरणमा ६ देखि २६ माघसम्मका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
विपक्षी दलहरुले ६ माघमा पत्रकार डेकेन्द्रराज थापाको हत्याविरुद्ध दैलेखमा विरोध प्रदर्शन एवम् सभा गर्ने भएका छन् । त्यस्तै १२ माघमा देशका सबै जिल्ला सदरमुकामहरुमा संयुक्त सभा तथा विरोध प्रदर्शन गर्ने, शहीद सप्ताह (१०–१६ माघ) लाई शहीद दिवसका साथै वर्तमान सरकारको निरंकुशताको प्रतिरोध सप्ताहका रुपमा मनाउने पनि विपक्षी दलहरुले निर्णय गरेका छन् । शहीद दिवसकै अवसर पारेर १६ माघमा काठमाडौंमा प्रदर्शन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी १९ माघमा बाग्लुङ्, २० माघमा विराटनगर, २१ माघमा नेपालगञ्ज, २२ माघमा पोखरा, २३ माघमा धनगढी, २४ माघमा जनकपुर, २५ माघमा भैरहवा र २६ माघमा काठमाडौंमा विशाल आमसभा र विरोध प्रदर्शन गर्ने विपक्षी दलहरुले निर्णय गरेका छन् । उनीहरुले मुख्य कार्यक्रमसँग नजुध्ने गरी अन्य आन्दोलनका कार्यक्रमहरु गर्न भ्रातृ संगठनहरुलाई पनि निर्देशन दिएका छन् ।
बल्खु बैठकपछि विपक्षी दलहरुले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल सद्भावना पार्टी आनन्दीदेवी र चुरेभावरका नेताहरुले हस्ताक्षर गरेका छन् ।
