समाचारबुधबार, माघ ३, २०६९
आन्दोलनलाई सशक्त बनाउने कांग्रेसको निर्णय
कांग्रेस सभापति सुशील कोइरालाको निवासमा ३ माघमा बसेको पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले अन्य विपक्षी दलहरुसँग भएको सहमतिअनुरुप आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने निचोडमा पुगेको हो । बैठकले सरकार निरङ्कुशता र सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै त्यसलाई रोक्न प्रभावकारी आन्दोलन गर्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारमा बसेर आन्दोलन गर्ने सत्तारुढदलहरुको कुरा सर्वसत्तावादमा मात्र सम्भव हुने र त्यसकै नमूनाका रुपमा सरकारबाट आन्दोलनको कुरा आएको ठहर सो बैठकले गरेको छ । बैठकपछि केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भने, “सत्तामा बसेर आन्दोलन गर्ने कुरा सर्वसत्तावादी शासनमा मात्रै हुन्छ, जहाँ सरकारी ‘भिजिलान्ते’को प्रयोग गरिन्छ ।”
कांग्रेसले वार्ता, आन्दोलन र संवैधानिक गरी राजनीतिक निकासका लागि त्रिपक्षीय नीति अख्तियार गरेको उनले जानकारी गराए ।
