समाचारबिहीबार, माघ ४, २०६९
दैलेखका अभियुक्त अरु १२ दिन थुनिने

पत्रकार डेकेन्द्र थापालाई जिउँदै गाडेको साविती वयान दिएका अभियुक्त लछीराम घर्तीलाई सरकारी वकिलको कार्यालय लगिंदै। फाइल तस्बीर
पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई थप १२ दिन थुनेर अनुसन्धान गर्न प्रहरीलाई दैलेख जिल्ला अदालतले समय दिएको छ । थुनामा राखेर अनुसन्धान गर्ने म्याद ३ माघमा सकिएपछि ४ माघमा जिल्ला अदालतबाट यस्तो आदेश आएको हो । स्रोतका अनुसार, अब प्रहरीले पत्रकार थापाका मित्र कमल न्यौपानेको सहयोग लिएर जिल्लाका बिभिन्न गाविसमा अनुसन्धान गर्नेछ । “हत्या भएको घटना कानूनीरुपमा स्थापित गर्न यसो गर्नु आवश्यक छ,” प्रहरी स्रोतले भन्यो ।
हत्या अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तहरुमाथि अपहरण, यातना र हत्याको अभियोगमा मुद्दा चल्ने कानूनविद्हरु बताउँछन् । ति सबै अभियोग गम्भीर भएकाले अभियोग प्रमाणित भएमा अभियुक्तहरुलाई सर्वस्वसहित जन्मकैदको सजाय हुनसक्छ । स्रोतका अनुसार, थापाको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग दावीसहित प्रहरीले मुद्दा अघि बढाउने सम्भावना छ ।
