समाचारशनिबार, माघ ६, २०६९
बाबुरामको सरकार ज्ञानेन्द्रको जस्तै: जोशी
६ माघमा पाल्पामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै जोशीले भने, “सत्ताधारी दलहरुले आन्दोलन गर्ने भनेर जात्रा देखाएका छन, त्यो भनेको सत्ता बचाउन मण्डलेहरु प्रयोग गरिएजस्तै वर्तमान सरकार पनि गुण्डाहरुको प्रयोग गरेर अराजकता निम्ताउन खोज्दै छ भन्ने हो ।”
आफूहरु सत्ताका लागि नभई निर्वाचनको सुनिश्चितताको लागि आन्दोलनमा उत्रिएको भन्दै जोशीले थपे, “संविधानसभाको विघटन गरेर चुनाव घोषणा गरेको सरकारले चुनाव पनि गर्न नसकेका कारण चुनावको सुनिश्चितताको लागी प्रतिपक्षहरुले आन्दोलन शुरु गर्नु परेको हो ।” उनले वर्तमान सरकार विघटन नहुँदासम्म आन्दोलन जारी रहने बताए ।
उनले मधेशी मोर्चा जनताका लागि नभई सत्तामा बस्नको लागि मात्रै राजनीति गरेको आरोप लगाए । उनले भने, “उनीहरुलाई माओवादीले सर्वसत्तावाद लाद्न गोटीको रुपमा प्रयोग गरिरहेको छ ।”
भट्टराई सरकार रहेसम्म लोकतन्त्र र गणतन्त्र पनि जोखिममा रहिरहने भन्दै नेता जोशीले जिउँदै मानिसलाई खाल्टोमा पुर्ने अपराधीहरुलाई जोगाउने सरकारको क्रियाकलापले विश्वमै नेपाललाई बदनाम गराउन खोजेको आरोप लगाए । “ बाबुराम सरकारको छबी ईतिहासमा सबैभन्दा भ्रष्ट, अनैतिक, दण्डहिनता, राष्ट्रघाति, मानवताविरोधी सरकारको रुपमा परिचित भएको छ,” जोशीले आक्रोश पोखे ।
देब पचभैया, पाल्पा
