समाचारशनिबार, माघ ६, २०६९

निरंकुशताविरुद्धको आन्दोलन शुरुः विपक्षी

हिमालखबर

नेपाली कांग्रेस, नेकपा एमालेलगायतका विपक्षी दलहरुले ६ माघमा दैलेखमा सरकारविरुद्ध र्‍याली तथा आमसभा गरेका छन् । दैलेख सदरमुकाममा आयोजित विरोध र्‍यालीपछि आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बाबुराम भट्टराई नेतृत्वको सरकार निरंकुश बन्दै गएकोले विपक्षीहरुले निरंकुशता विरोधी आन्दोलन शुरु गरेको बताए । उनले भने, “चुनाव नगराउने र एकलौटी शासनसत्ता चलाउन खोज्ने वर्तमान सरकार नढालेसम्म यो आन्दोलन रोकिने छैन ।”  नेता गौतमले आन्दोलन सरकारविरुद्ध मात्र नभई लोकतन्त्र, मानवअधिकार र विधिको शासनका पक्षमा भएकोमा जोड दिए । पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले वर्तमान सरकारले कानुनी राज्यको खिल्ली उडाएको बताउँदै पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरूलाई उम्काउन कांग्रेस र एमालेका नेताहरूलाई समेत जेल चलान गर्नुपर्छ भन्ने झुटो अभिव्यक्ति दिएको बताए ।     उनले भने, “हामीले मानवअधिकार हनन्का कुनै पनि घटना घटाएका छैनौं, यदि कसैले प्रमाणित गराउन सक्दछ भने हामी कारबाही भोग्न तयार छौं तर, अहिलेको सरकार त्यसमा तयार हुन्छ कि हुँदैन ?”

त्यस्तै, सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता रामशरण महतले एमाओवादीले निर्वाचन पनि नचाहेको र सरकार पनि छोड्न नचाहेकाले अब आन्दोलनको बलबाट नै बाबुराम भट्टराईलाई कुर्सीबाट हटाउने दाबी गरे । उनले प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘श्रीपेच नलगाएका नयाँ तानाशाह’ भने । पूर्ब अर्थमन्त्री समेत रहेका महतले एमाओवादीले जातीयताका नाममा मुलुकको विखण्डन गर्न खोजेको र सत्तामा रहँदासमेत आपराधिक चरित्र नछोडेको आरोप लगाए । उनले पहिलो चरणमा विरोधसभा गरिएपनि दोस्रो चरणमा कडा खालका कार्यक्रम आउने जानकारी दिए ।

सभालाई राप्रपाका गोविन्द विक्रम शाह, राष्ट्रिय जनमोर्चाका जनकराज रेग्मी,  नेकपा मालेका गोपालमणी गौतम, नेकपा संयुक्तका ठाकुर शर्मा र स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाकी पत्नी लक्ष्मी थापाले सम्बोधन गरेका थिए ।

सभाअघि गाउँ गाउँबाट र्‍याली सहित विपक्षी दलका कार्यकर्ताहरु सदरमुकाम आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>