समाचारसोमबार, माघ ८, २०६९
सहमतिपछि रामपुरमा कर्फ्यु हट्यो

रामपुरमा हत्याको विरोधमा महिलाहरुले गरेको प्रदर्शन नियन्त्रण गर्न नसक्दा स्थानीय प्रशासनले कर्फ्यु नै लगाउनु पर्यो ।
शवको दाहसंस्कारपछि मात्रै प्रशासनले कर्फ्यु हटाउने सहमति भए बमोजिम बेलुका साढे ६ बजेदेखी कर्फ्यु हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज वरालले जानकारी दिए । शव फेला परेको तीन दिनपछि मृतककी ७९ बर्षीया सासु ढक कुमारी श्रेष्ठले शव बुझी ८ माघ वेलुका काली गण्डकी नदी किनारमा अन्तिम संस्कार गरिएको प्रहरीले जनाएको छ ।
कर्फ्यु हटाउनु अघि मृतकका आफन्त र स्थानीय प्रशासनबीच शवको अन्तिम संस्कारपछि कर्फ्यु हटाउने, घटनाको अनुसन्धान प्रगति प्रहरीले पीडितपक्षलाई जानकारी गराउने, घाईतेहरु ताराबहादुर श्रेष्ठ र शिव आचार्यको उपचारका लागि जिल्ला सुरक्षा संयन्त्रको बैठक बसी मन्त्रालयमा सिफारिस गर्ने, प्रहरीले अनुसन्धान गरी पाँच दिनभित्र पीडित पक्षलाई सूचना दिने, हत्या प्रकरण र प्रहरी कार्यालय तोडोफोडबारे छानविन गर्न क्षेत्रीय प्रहरी कार्यालय पोखराका एसपी मनोज न्यौपानेको नेतृत्वमा समिति गठन गर्ने सहमति भएको पाल्पाका डिएसपी स्थानेश्वर रेग्मीले बताए ।
पुस ४ गतेदेखि बेपत्ता रामपुर ५ की सोनु श्रेष्ठको शव शनिबार बिहान ११ बजे कालीगण्डकी किनारमा भेटिएको थियो । हत्या प्रकरणलाई लिएर केहि दिनदेखि रामपुरमा विरोधका कार्यक्रम भएका थिए । आईतबार स्थानीयले प्रहरी कार्यालय नियन्त्रणमा लिएर तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले रामपुर बजारमा ७ माघ दिउँसो तीन बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रहरीले मृतकका पति ओम श्रेष्ठ र उनकी जेठी पत्नीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ८ माघ पनि दिनभर स्थानीय र पीडित पक्षले रामपुर बजारमा प्रदर्शन गरेका थिए ।
देव पचभैया, रामपुर (पाल्पा)
