समाचारसोमबार, माघ ८, २०६९
तेस्रो लिंगीलाई ‘अन्य’ नागरिकता
यौनिक तथा लैगिंक अल्पसंख्याक समुदायको मागलाई ध्यानमा राखेर लिंगको महलमा ‘अन्य’ जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका २०६९ लाई गृहमन्त्रीस्तरबाट १६ पुसमा स्वीकृत प्रदान गरिएको गृहमन्त्रालयले जनाएको छ । सो समुदायका ब्यक्तिहरुलाई नागरिकता बितरण गर्ने कार्यमा एकरुपता ल्याउन यस्तो ब्यबस्था गरिएको परिपत्र गृहमन्त्रालयले सबै क्षेत्रीय प्रशासन कार्यालयमा पठाएको छ ।
निलहिरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले ढिलै भए पनि गृहमन्त्रालयले सकारात्मक निर्णय गरेको टिप्पणी गरेका छन् । पन्तले यसलाई १२ बर्षको संघर्षको प्रतिफल भएको बताए । यसबाट आफूहरु अन्य नागरिक सरह भएको उल्लेख गर्दै उनले भने “अबको चुनौती भनेको यो समुदायका ब्यक्तिहरुलाई कसरी मूलधारमा ल्याउने भन्ने नै हो ।” यो निर्णयबाट यसअघि सर्बोच्च अदालतले ६ पुस २०६४ मा यो समुदाय पनि प्राकृतिक हुन् जसको अन्य नागरिक सरह अधिकार रहेको उल्लेख गर्दै पहिचान सहितको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । सो आदेश जारी भएपछि तीन जनाले तेस्रो लिंगि उल्लेख गरिएको नागरिकता प्रमाणपत्र लिएका थिए ।
यसअघि यौनिक तथा लैगिंक अल्पसंख्याक समुदायका ब्यक्तिहरुलाई पहिचानसहितको नागरिकता जारी गर्ने सम्बन्धमा नागरिकता नियमावली, २०६३ का अनुसूचीहरु हेरफेर तथा थपघट गरी ९ असार २०६९ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको थियो ।
