समाचारमंगलबार, माघ ९, २०६९
दाहालले भने– ‘साँच्चिकै ठट्टा गरेको हुँ’
९माघमा पार्टी ताप्लेजुङको पहिलो जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले ८ माघमा आफू प्रधानमन्त्रीको विकल्प बन्न तयार छु भनेको ठट्यौली मात्रै भएको बताए । उनले भने, “अघिल्लो दिन गोर्खामा मैले बोलेको कुरालाई ठटयौलीकै रुपमा लिइदिनुहोस ।” उनले थपे, “मैले गोर्खामा आयोजित कार्यक्रममा पुगेका बखत एकदुईजना पत्रकारसँग मात्र यो कुरा गरेको थिँए ।” दाहालले प्रधानमन्त्री बन्नैपर्ने परिस्थिति आइलागे सामना गर्न सक्षम रहेको पनि बताए । पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईसँगै ताप्लेजुङ पुगेका दाहालले जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा अरु बिषयमा भने धेरै बोलेनन् ।
कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले पनि अध्यक्ष दाहालले अघिल्लो दिन गोर्खामा दिएको अभिव्यक्ति मजाक नै भएको दाबी गरे । भट्टराईले अध्यक्ष दाहाल तत्काल प्रधानमन्त्री बन्ने कुनै संभावना नरहेको बताए । उनले भने, “अध्यक्ष प्रचण्डले गोर्खामा हिंजो हांसो मजाकको रुपमा म प्रधानमन्त्री हुन सक्छु भन्नु भएको हो ।” उनले जेठ महिना भित्र संबिधानसभाको निर्वाचन अनिवार्य भएको पनि बताएका थिए ।
लक्ष्मी गौतम, ताप्लेजुङ
